तिम्रो, मेरो अनि हामी सबैको तनहुँ

www.hamrotanahun.com.np
विश्व बन्धु भण्डारी
यता केही वर्षदेखि विद्यालय सञ्चालन त्यस्तै, मन्दिर, आश्रम निर्माण गर्न  अर्थ संकलनका लागि श्रीमद् भागवत महायज्ञ सञ्चालन गर्ने काम फेसन जस्तै बनेको छ । २००७ सालको राणा शाहीको अन्त्य संगै गाउँ–गाउँमा विद्यालय खोल्न र त्यसको नियमित सञ्चालनका लागि भारतीय र बृटिस सेनाका भूपूहरुले चौतारी, पाटी पौवामा वा ओडारमा गाउँका बालबालिकाहरुलाई जम्मा गराएर पढाउन सुरु गरेको र त्यस्तैमा सहभागि भएर म र मेरा समाकालिन साथीहरुले प्रारम्भिक शिक्षा सुरु गरेको मेरो स्मरणमा ताजै छ । आफ्नो गाउँमा शिक्षाको ज्योति बाल्न र यसको स्थायीत्व दिन गाउँका मानिसहरु विद्यालय भवन निर्माणका लागि घन, गैटी, कुटो कोदालो बोकेर घडेरी खार्न र भवन निर्माण गर्न पनि सुरु गरेका थिए । त्यस्तै भवन निर्माणका लागि बाँस, खर, कटुस्का स्याउला, सालका थाम बोकेर अग्रजहरुले महत्वपूर्ण भूमिका खेलेको र त्यस्ता टहराहरु निर्माण गरेर शिक्षालाई गाउँ–गाउँसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएका हुन् । यसै क्रममा स्याङजा जिल्लाको मेरो जन्म थलो मग्यामचिसापानीको विकट बस्ति खहरेमा विद्यालय स्थापनार्थ गाउँका अग्रजहरुले खेत, बारी र पखेराहरुमा भेला भएर टहरा निर्माण गरेको स्थानमा तिनै भूपू अग्रजहरुले त्यतिबेलाका बालबालिकाहरुलाई शिक्षा, दिक्षा, दिन सुरु गरेको र शिक्षाको दियो बालेको पनि अहिले पनि भूल्न सकिदैन । यसै क्रममा मग्यामचिसापानीकै चिसापानीको छिमेकी गाउँ चित्रेभञ्ज्याङ गाउँ विकास समितिको मात्रृभूमि नामक प्राथमिक विद्यालय २०१९ सालमा स्थापना भई यतिखेर उच्च माध्यमिक विद्यालय स्तर पुगेको छ । मातृभूमिलाई उच्च माविको स्तरमा पु¥याउन धेरै अग्रजहरुले आफ्नो रगत र पसिना बगाई सकेका छन् । कतिपय अग्रजहरु यस धर्तीबाट विदा पनि भईसकेका छन् । उनिहरुलाई चित्रे बासिले श्रद्र्धासुमन पनि व्याक्त गर्ने गरेका छन् ।
	प्रसंग २०६८ पुस ६ गते मातृभूमि प्राङ्गणमा आयोजित समारोहमा विद्यालयलाई उच्च माध्यमिक विद्यालयको औपचारिक घोषणा गरिएको छ । उक्त घोषणा समारोहका लागि भिमाद जिद्धी खोला तरेर बस उकालो लाग्यो । पुस महिनाको कठारिङ्गदो जाँडा, बंसानको सालघारी र बाटोको दायाबायाँ औसेलु फूलेर लटरम्मै थियो । पोखरा नौमती बाजा टोली पुन समाजकी अध्यक्ष कमला पुनको नेतृत्वमा आएको टोलीले बस खचाखच थियो। उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव भिमलाल गुरुङ्ग, प्रेस काउन्सील नेपालका सदस्य एवं मेची महाकाली मिडीया सोसाइटीका अध्यक्ष माधव शर्मा साथमा रामराज रिजाल, अमृत रिजाल, एमाले गण्डकी–काठमाण्डौं सम्पर्क समाजका खेम थापा, विजय गुरुङ्ग सहितको टोली आगाडि लाग्यो। जौपानी भञ्ज्याङमा पुगेर पञ्चेबाजा टोली बसको छतमा बसेर बाजा घनकाउन सुरु ग¥यो । तनहुँ छिचोलेर चित्रेको झिरुवास पुगेपछि बाटोमा फूल माला र अविर लिएर आमा समुहले स्वागत गर्न थालेपछि गाडीबाट उत्रिएका प्रमुख अतिथि भिमलाल गुरुङ्ग विशिष्ट अतिथि माधव शर्मा लगायत सबैलाई अविर काँधै भरि माला भएपछि थोरै अगाडि बढेको हाम्रो बस पिपल डाँडामा पुगेर पञ्चैबाजाका साथ अगाडि बढ्न सुरु गरेपछि विद्यालय प्राङ्गण भित्र प्रवेश गर्दा वरिष्ट समाजसेवी मनोरथ शर्मा, विद्यालयका प्रधानाध्यापक नारायणसिंह थापा, प्रचार्य शोभकान्त पोख्रेल, शिक्षक बालकृष्ण राना, व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा लगायतलाई उछारबाटो थिएन । शिक्षिका यामकुमारी राना, हिरा थापा, खडानन्द सिग्देल, राजकुमार थापा स्टोरबाट सामान मिलाउन व्यस्त थिए। झिरुवासदेखि घन्केको पञ्चेबाजाको नरसिंहको आवाजले करङ्गस्वाँरा, बाङ्गेस्वाँरा, गृहकोट, ढुङ्गेठाँटी लगायत राम्चेबासीहरु उल्टिएर विद्यालय प्राङ्गणमा प्रवेश गरेपछि कतै खुट्टा हाल्ने बाटो छैन। भिड बढेको छ । कार्यक्रम सञ्चालकले प्रमुख अतिथि लगायत अतिथिहरुलाई आशन ग्रहण गराइ सक्दा नसक्दै विद्यालयलाई दान गर्ने दाताहरुले सम्मानपत्र बुझ्न र दोसल्ला ओढ्न लाम लागेपछि माधव शर्मा दोसल्ला ओढाउन र प्रमुख अतिथि गुरुङ्ग प्रमाणपत्र प्रदान गर्न दिनभर भ्याइ नभ्याई थियो । आफ्नो समाजसेवा गरेको ठाउँ, पुरानो बस्तिमा ३५ हजार भन्दा बढी दानदिएर दोसल्ला ओढाउन बोलाएको कारण ७८ वर्षिय वयोवृद्ध बदलसिंह थापा पनि अर्खला भञ्ज्याङबाट हाम्रै साथ जानु भएको थियो। चित्रेबाट टाँढा भएपनि भिमाद मनकामना हार्डवेरसका हरिप्रसाद आचार्यले ७५ हजार ५ सय ५१ रुपैयाँ दान गरेर चौथो स्थान ओगट्न पुगेको कारण दोसल्ल ओढ्न चित्रेबासिको निमन्त्रणा स्वीकार गर्दै त्यहाँ पुग्नु भएको थियो । चित्रेबासिहरुले आफ्नो गाउँलाई शिक्षाको पहुँचमा राख्न ५ सय रुपैयाँ दिने याम बहादुर विकदेखि १ लाख ४३ हजार रुपैयाँ दिने थानविर थापा लगायतले दान गरेर झण्डै ३५ लाख भन्दा बढि रकम संकलन गर्न विद्यालय सफल भएकोले महायज्ञकै झल्को मेटाउने गरी पुस ६ गते विशेष समारोहको आयोजना गरेर सबै दाताहरुलाई दोसल्ला, रामनामी, खाँदाका साथमा प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रम भएकोले त्यो समारोह मातृभूमि उच्च माध्यमिक विद्यालयको भव्य स्वागतले दानदाताहरुलाई उत्साहित बनाउन सफल भएको थियो ।
	सुविधा र अवसरको खोजीका कारण गाउँ उजाडिदै गएको बेला चित्रेवासिले २०१९ सालदेखि सुरु गरेको प्राथमिक विद्यालय माध्यमिक हुँदै उच्च माध्यमिक विद्यालयमा परिणत भएको छ । चित्रेवासिहरुको उत्साहले आउँदा केही वर्षमा स्नातक तह सञ्चालनका लागि त्यहाँका सामाजिक अगुवालाई फेरि एकपटक घचघचाउन सुरु गर्नेछन्। अन्त्र लोडसेडिङ्गका कारण दैनिक १० देखि १८ घण्टासम्म अन्धकारमा बस्नु परेको बेला ११ किलोमिटर तल पुतपुते खोलाबाट विद्युत उत्पादन गर्न सफल भई तनहुँका छिमेकी गाउँहरु अरुणोदय, किहू, भानुमतीमा प्रसारित केन्द्रीय विद्युत सेवालाई चित्रेवासिले चुनौती दिइसकेका छन्। त्यहाँका ८ सय ३४ घर धुरीमा २४सै घण्टा विद्युत सेवा उपलब्ध छ।
	त्यसै गरी चित्रे भञ्ज्याङको १३ सय मिटर उचाईमा रहेको गृहकोट, करङ्गस्वाँरा, ढुङ्गेठाँटी, बाँङ्गस्वाँरा, छिपुङ्ग जस्ता गाउँमा ११ सय २० मिटर तल ढाउँखानीबाट लिफ्टिङ्ग प्रविधिबाट खानेपानी योजना सम्पन्न हुँदै छ । त्यो मात्र कहाँ हो र राम्चे बासिहरुको पानीको काकाकुल मेटाउन करिब ४ सय मिटर तलबाट खानेपानी लिफ्टिङ्ग प्रविधिबाट सम्पन्न हुँदै छ । त्यसैले आगामि केही वर्ष भित्रै चित्रेलाई पर्यटकीय गाउँको रुपमा विकास गराउन त्यहाँको विभूति प्रतिष्ठान, गृहकोटको भैरव थान, आयाआर्जन तर्फ सुन्तला, अदुवा खेती जस्ता उत्पादनशिल काम तर्फ थप लगानि भएमा चित्रेबासि गाउँ छाडेर अन्यत्र बसाई सर्ने छैनन् ।