हाम्रो तनहुँ सम्वाददाता दमौली, पुस यसै शैक्षिक सत्रको एसएलसी परीक्षा सकिए पछि तनहुँका बिद्यालयहरुले विद्यालयको बार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन्। विगतका वर्षहरुमा एसएलसी परीक्षा सुरु हुनुभन्दा अगाडि नै जिल्लाभरका विद्यालयहरुमा बार्षिक परीक्षा सम्पन्न गर्ने गरिन्थ्यो । तनहुँ जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले एसएलसी परीक्षा अगावै विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा कतिपय विद्यालयमा पाठ्यक्रम पूर्ण रुपम नसकिने हुँदा एसएलसी परीक्षा सम्पन्न भए पछि विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा विद्यार्थीहरुलाई पनि पठन पाठनको समय लम्बिने हुँदा यो निर्णय गरिएको प्राध्यापकहरुले जनाएका छन् । हरेक बर्ष चैत्र महिनामा सञ्चालन हुने एसएलसी परीक्षा अगाबै बिद्यालयहरुले बार्षिक परीक्षाहरु समाप्त गर्ने परीपाटी हुँदा बिद्यालयहरुको पठन पाठन चैत्र महिनाभर नहुने र लगत्तै नयाँ शैक्षिक शत्रको लागि ३ हप्ता बिद्यार्थी भर्नाको लागि तोकिने हुँदा लगभग २ महिनाको पठनपाठन केही माबिहरुमा सञ्चालन हुने एसएलसी परीक्षाको कारणबाट प्रभाबित हुने गरेको थियो । प्राध्यापकहरुको उक्त बैठकले बिद्यालयहरुको बार्षिक परीक्षा एसएल सी परीक्षा पछि मात्र अर्थात चैत्र १७ गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानाध्यापकहरुको यस निर्णयको बिद्यार्थी, अभिभाबक र स्वयं शिक्षक र शिक्षा कार्यालयले स्वागत गरेको छ । यस्तो सकारात्मक सन्देश देशभरि नै पुगोस भन्ने अपेक्षा समेत राखिएको भानु उच्च माध्यमिक विद्यालयका प्राचार्य एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य ईन्द्र बहादुर कुँवरले बताउनुभयो । त्यस्तै, समाजमा असोभनीय आचरण र खानपीन गर्ने शिक्षकहरु माथि निगरानी सुरु गर्ने पनि बैठकले निर्णय गरेको बताईएको छ । उक्त बैठक जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।